अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले  यस्तो बताएका हुन् । सिंहले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको पनि बताए ।  

पछिल्लो समय लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको मन्त्री सिंहको भनाई छ  ।  इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको उपप्रधानमन्त्री सिंहले बताए । 

उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया