सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सदभाव बिग्रिने गरी सामाजिक सञ्जालमा कुनै पनि सामग्री नराख्न आग्रह गरेको छ । प्रशासनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको हो । प्रशासनले नेपालगञ्जमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु प्रभावकारी एवम् समन्वयात्मक रुपमा परिचालन गरिएको जनाएको छ । त्यसैगरी जिल्ला प्रहरीले पनि सामाजिक सञ्जालमा धार्मिक सद्भाव भड्काउने पोस्ट, कमेन्ट नगर्न तथा सद्भाव जगाउने सकारात्मक भावना अभिव्यक्त गर्न आग्रह गरेको छ । बाँके प्रशासनले नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । यसैबीच, नेपालगन्जको वीपी चोकमा मंगलबार भएको झडपमा घाइते २१ जना उपचार गरेर घर फर्केका छन् । हिजोको झडपमा पाँच जना सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मंगलबार बेलुका र आज बिहान अस्पतालबाट घरे फर्केका हुन । कर्फ्यूका कारण नेपालगन्जको राँझा क्षेत्रबाट मात्र लामो तथा छोटो दुरीका यात्रुबाहक गाडीहरु सञ्चालन भएका छन् । भारतबाट आएर जमुनाहा नाकामा अलपत्र परेका यात्रीहरुलाई भने जिप्रका बाँकेले राँझासम्म लैजाने व्यवस्था गरेको हो । नगर क्षेत्रमा बाहिरबाट आउने व्यक्तिलाई अत्यावश्यक सेवामा आउने बाहेकलाई चोक चोकबाट फर्काइएको छ ।

प्रतिक्रिया