इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा बाइस जनाको मृत्यु, एक सय चौबिस जना घाइते

एजेन्सी । इजरायली सेनाले गरेको आक्रमणमा परी दक्षिणी लेबनानमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा अरु एक सय २४ जना घाइते भएका छन् । विद्रोही समूह हिजबुल्लाहलाई हटाउने समयसीमा समाप्त हुनासाथ त्यस क्षेत्रमा सेना परिचालन गरेर इजरायलले आक्रमण शुरू गरेको हो  ।

इजरायली सुरक्षा बलले नागरिकमाथि आक्रमण गरेको लेबनानको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । लेबनानी सेनाले इजरायली आक्रमणमा नागरिकबाहेक आफ्ना एक सैनिक मारिएको र अन्य एक सैनिक घाइते भएको जनाएको छ ।

लेबनानी सेनाले असुरक्षाको  चेतावनी दिए पनि हजारौँ बासिन्दाहरू सीमा नजिकका शहर र गाउँहरूमा फर्किएका छन् । गएको नोबेम्भरमा भएको हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता इजरायलले पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ । लेबनानबाट इजरायली सैनिक फिर्तापनि अनिश्चित छ ।

प्रतिक्रिया