बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसोदेखि ११ पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक आज बिहान ५ः४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।  यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ म्याग्निच्यूडको परकम्प गएको थियो । यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको केन्द्रले जनाएको  । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा परकम्प गएका थिए । यीबाहेक सानासाना परकम्प गइरहेको केन्द्रले जनाएको छ । बझाङ र बैतडी जिल्लामा स्थानीयहरु मंगलबारको रात घरबाहिरै बसेर कटाएका छन् । भूकम्पको धक्का महसुस भइरहेका कारण डरडरमा रात कटाउनुपरेको बझाङका स्थानीयले बताएका हुन । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।  ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । बझाङमा भूकम्पबाट २६ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । थलारामा ६० घरमा क्षति पुगेको छ ।  भूकम्पको धक्काले बझाङको चैनपुर, तलकोट, थलरा, केदारस्युँ, छान्ना लगायत क्षेत्रमा बढी क्षति पुगेको छ । बैतडीको सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका र पाटन नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पले बैतडीमा २ र अछाममा १ घाइते भएका छन । भूकम्पको धक्काले बैतडीमा १३ वटा भौतिक संरचनामा क्षति पुगेको बताइएको छ ।  भूकम्पको धक्काले अछाम, बाजुरा, डोटी र डडेलधुराका केही ठाउँमा पनि घर तथा भवनहरु चर्किएका छन् । 
 

प्रतिक्रिया