अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे

अमेरिकी संसदका सभामुख केभिन मकार्थी पदबाट बर्खास्त भएका छन् । संसदको तल्लो सदनले उनलाई पदबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेपछि उनी पदमुक्त भएका हुन् । सदनमा भएको मतदानमा गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको हो । आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गरेका छन । नयाँ सभामुख चयन हुन कम्तीमा एक साता लाग्ने जनाइएको छ । मकार्थीले आफूले पुनः उक्त पदमा प्रतिष्पर्धा नगर्ने जनाएका छन् अमेरिकी संसदको २ सय ३४ वर्षको इतिहासमा पहिलो पटक कुनै बहालवाला सभामुख यसरी पदमुक्त गरिएका हुन् । सभामुख पदमा निर्वाचित भएको नौ महिना पनि पूरा नहुँदै मकार्थीलाई अपदस्थ गरिएको हो । उनी यसै वर्षको जनवरी ७ मा सभामुख पदमा निर्वाचित भएका थिए । फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउन सोमबार सदनमा प्रस्ताव अघि सारेका थिए । डेमोक्रेटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको हो । म्याकार्थीले डेमोक्रेटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराएपछि रिपब्लिकन सांसद उनीविरुद्ध उभिएका हुन । ४ सय ३५ सदस्यीय संसदमा रिपब्लिकन पार्टीका २ सय २१ र डेमोक्र्याटिक पार्टीका २ सय १२ सांसद छन् । दुई सिट भने रिक्त छ । 

प्रतिक्रिया