एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा आज विहान इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने निश्चित भएको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ । 
 

प्रतिक्रिया