भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण शुरु

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । 

भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकी हुन् । 

ताररहित महानगर बनाउने योजना अनुरुप विद्युत् प्राधिकरण सँगको सहकार्यमा काम गरिएको उनले बताइन् । यसले महानगरपालिकालाई स्मार्ट सिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको काम सक्ने उनले आग्रह गरिन् ।  काठमाडौं पछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ । 

पहिलो फिडर बाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रुपमा विद्युत् पुर्‍याइएको छ । यस्ता १७ वटा फिडर मार्फत महानगरको छ लेन सडक र बाइपास रोड सडमा तार रहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । 

आयोजनाले हाल सम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । केन्द्रीय बस ट्रमिनल देखि गोन्द्राङ सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्ने काम भइरहेको छ ।

नारायणगढको पुलचोक देखि गोन्द्राङ सम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको छ । पौडेलका अनुसार  भरतपुर महानगर भित्र विद्युतीय तार भूमिगत गर्नका लागि १ अर्ब ३० करोडमा ठेक्का सम्झौता भएको हो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको छ ।

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । सन् २०२२ को जनवरी बाट आयोजनाले काम शुरु गरेको हो । चालु आर्थिक वर्ष भित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।
रासस 

प्रतिक्रिया