रवि लामिछानेको मुद्दामा थुनछेक बहस शुरु

काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.का) सभापति रवि लामिछानेको थुनछेक बहस शुरु भएको छ । 

जिल्ला अदालत रुपन्देहीमा बिहीबार पनि बहस नसकिएपछि आज पुनः बहस भइरहेको हो । बुधबार अदालत उपस्थित भएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस गर्ने छन् । 
 
लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सुुप्रिम सहकारी प्रकरणमा  छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ जना र शुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । 

अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । यसैबीच, जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आउँदो साता भित्र लामिछाने विरुद्ध मुद्दा दर्ता गरिने जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले चाहिँ अनुसन्धान जारी रहेको भन्दै मुद्दा दर्तामा केही समय लाग्ने जनाएको छ । 

यसअघि माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा कास्की जिल्ला अदालतले लामिछानेलाई रिहा गरेका थिए ।

प्रतिक्रिया