एलपी ग्यासमा दक्षिण एसियमै नभएको चर्को कर असुली नेपालमा

सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको पाइएको छ ।  नेपाल आयल निगमका अनुसार हाल प्रतिसिलिन्डरमा तीन सय नौ  रुपियाँ कर रहेको छ । छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पाेरेसन आइओसीलाई रकम दिएर उपभोक्तालाई सहुलियत रूपमा ग्यास वितरण गरिरहेका बेला नेपाल सरकारले भने चर्काे कर लिएर उपभोक्तालाई ग्यास महँगो परिरहेको छ । छिमेकी मुलुक भारतले ग्यासमा कर लगाएको छैन । डिजेल, पेट्रोल र हवाई इन्धनमा कर लिए पनि अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास गाडीमा नभई भान्छामा प्रयोग हुने हुँदा यसमा कर लिनु उपयुक्त नहुने धेरैको भनाइ छ । ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर दुई हजार ७६ रुपियाँ रहेको छ । बिक्री मूल्य एक हजार ८९५ रुपियाँ रहेको छ । हाल ग्यास प्रतिसलिन्डरमा १ सय ८१ रुपियाँ घाटा रहेको निगमले जनाएको छ । नेपालमा विभिन्न ५९ वटा ग्यास उद्योगले ग्यास बजारमा पठाउने गर्छन् । हाल दैनिक ४० देखि ४५ मेट्रिक टन ग्यासको खपत हुने गरेको छ । पछिल्लो समय बजारमा ग्यासको खपत १० प्रतिशतले कमी आएको बिक्रेताको भनाइ छ । विद्युतीय चुलोको प्रयोग बढ्दै गएको र उद्योग क्षेत्रमा प्रयोग घट्दा ग्यासको खपतमा कमी आएको ग्यास बिक्रेताको भनाइ छ । 

प्रतिक्रिया