महाराष्ट्र रेल दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ७ जना नेपाली

महाराष्ट्र रेल दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ७ जना नेपाली

काठमाडौं । भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेको खुलेको छ । 

ज्यान गुमाउने मध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने २ जनाको ठेगाना खुलेको छैन । मृत्यु हुने मध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् । कलबजार–४ चाल्साकी ६० वर्षीया जयकला भारतमा बस्ने छोरा बुहारीले उपचारका लागि बोलाएपछि आइतबार अछाम बाट महाराष्ट्रका लागि गएकी थिइन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम उनका माइतीतिरका नातेदार हुन् । उनै नन्दारामको साथ लागेर छोराबुहारी र नाति भेट्न गएकी जयकला बुधबार रेल दुर्घटनामा परेका हुन । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् । घाइते अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र राज्य स्थित जलगाउँमा बुधबार साँझ लखनउ बाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेल बाट हाम फालेका थिए ।  घटनामा ज्यान गुमाएका व्यक्तिको शवलाई उनको परिवार सम्म पुर्‍याउने कामका लागि समन्वय भइरहेको नेपाली दुताबासले जनाएको छ । 

भारत सरकारले घोषणा गरेको मृतकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपाली पीडित परिवारले पनि पाउनुपर्ने विषयमा दूतावासले पहल गरिरहेको छ ।
 

प्रतिक्रिया