चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्ष देखि लगातार चिया  बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षा समेत हासिल गराएका छन् । 

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइ देखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ । पच्चीस वर्ष अघि पसल शुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर १३ मा किनेको दूध हाल  ८० पर्छ, महँगी धेरै बढ्यो ।

स्वामकुमारीले भनिन्, “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्योे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।” त्यसबेला लोकल चिया प्रतिकप  दुई र  स्पेसल तीन थियो ।  छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले  छोराछोरी दुवैलाई उच्च माध्यमिक तह सम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउँछन् । 

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन् । “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो,  दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उनी बताउँछिन् । 

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानी मात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउछन्।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके । उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउछन्। “वर्षौँ देखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी बताउछन् । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू (भारतीय रुपैयाँ) पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबा सँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउछन् । 
रासस 

प्रतिक्रिया