विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्नेले मुआब्जा नपाउने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सहितको जग्गा आफ्नो नाममा गरेका पर्वतराजकान्त मिश्रलाई मुआब्जा नदिने निर्णय भएको छ । जिल्ला मुआब्जा निर्धारण समिति, रुपन्देहीको सोमबार बसेको बैठकले जग्गा दर्ता प्रक्रिया शङ्कास्पद देखिएको जनाउँदै मुआब्जा नदिने निर्णय गरेको हो । हदम्यादका कारण मन्दिरलाई दिइएको जमीन व्यक्तिको नाममा गरिदिएको मालपोत कार्यालय, भैरहवाको निर्णय विवादरहित नदेखिएको हुँदा मुआब्जा नदिने निर्णय भएको मुआब्जा निर्धारण समितिका संयोजक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मालपोत कार्यालयको निर्णय प्रक्रियाप्रति विश्वस्त हुन नसकिने निर्णय गरेको हो । त्यस्तै, बैठकले मुआब्जा तथा क्षतिपूर्ति माग गरी पेश भएको निवेदनमा उल्लिखित भुजौली ९ ख कित्ता नं. ७, ३२, ६७ ६८, ९२ र ९४ जमीनको मुआब्जा दिन नसकिने निर्णय गरेको छ ।  हदबन्दीका कारण मन्दिरलाई दिएको विमानस्थलभित्रको चार बिघा १७ कट्ठा ६ धुर जमीन २०८० वैशाख ८ मा जिल्ला मालपोत कार्यालय, भैरहवाले मिश्रको नाममा दर्ता गरेको थियो । त्यस लगत्तै उनले वैशाख ११ गते मुआब्जाका लागि विमानस्थल सुदृढीकरण कार्य आयोजना एकाइमा निवेदन दिएका थिए ।   

प्रतिक्रिया