कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित
कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरका स्थानीय आक्रोसित भएका छन् । करोडौ खर्चिएर निर्माण गरिएको सडक टिकाउ नभएको भन्दै स्थानीयले भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
भोजपुरको बोखिम –पिप्ले – खाल्डे– आहाले– दधिपुर– सल्लेनी सडक खण्ड कालोपत्र भएको तीन महिनामा नै भत्किएको छ । बोखिमबाट पिप्लेसम्मको साढे चार किलो मिटर सडक रौताहा–रामसागर विल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीय आक्रोसित भएका छन् । स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको माग समेत गरेका छन् ।
सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक/पटक भनेपनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको स्थलगत अनुगमनमा भेटिएको छ ।
यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यन्वयन इकाई झापा अन्तर्गत नेपाल सरकारको भ्याटसहित करिव साढे दश करोड लागतमा निर्माण भएको कार्यान्वयन इकाईले जनाएको छ । सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नु पर्ने उनको भनाइ छ ।
सडकको अनुगमन पश्चात विग्रिएको सडकको मर्मत गर्ने निर्माण कम्पनीले जनाएको छ ।
सडकमा विच्छ्याएको सव बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ । तीन महिना वितिसक्दा पनि कालोपत्रको क्रममा विच्छ्याएको गिटी नउठाउदा दुर्घटनाको जोखिम बढेको स्थानीयबासीको भनाइ छ ।
प्रतिक्रिया