हत्यारालाई आममाफी दिएको भन्दै रास्पाले राष्ट्रपतिलाई बुझायो ज्ञापनपत्र

हत्यारालाई आममाफी दिएको प्रकरणमा आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । असोज १० गते बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयबमोजिम सो पार्टीले आज राष्ट्रपति पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । जघन्य अपराधअन्तर्गत फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई असोज ३ गते संविधान दिवसको दिन माफी दिइनु विधिको शासनको मर्मको बर्खिलाप रहेको रास्वपाको पत्रमा उल्लेख छ ।पत्र बुझ्दै राष्ट्रपति पौडेलले पनि २४ जनाको नाम फिर्ता गरेको स्मरण गराएका छन । राष्ट्रपति पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । उनले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जसअपसजको भागीदार सरकार नै हुने भएकाले सरकारलाई नै प्रश्न गर्न आग्रह गरेका हुन् । पत्र बुझाउन रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सासंदको टोली शीतलनिवास पुगेका थिए । यसैबीच, रास्वपाले संविधान दिवस या गणतन्त्र दिवसको अवसरमा राजनीतिक आस्थाको आधारमा भइरहेको आममाफी सम्बन्धमा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्ने भएको छ । बुधवारसम्म जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ताको तयारी सो पार्टीको छ । 

प्रतिक्रिया