सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाबाट हुने क्षति कम गर्नुपर्ने आवश्यकता औल्याएका छन् । आज काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शुभारम्भ गर्दै उनले सबै काम सहज रुपमा सञ्चालन गर्नका लागि सहज ढंगले यातायात सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भएपनि चाप धान्न नसक्ने बताए । 
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बढ्दो पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको बताए । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्व नजिकिए पनि सबै तिरका मुख्य सडकहरु अस्तव्यस्त रहेको भन्दै सरकारसँग दशैँअघि नै सडकहरुको व्यवस्थापन गर्न माग गरे । 
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुरा अन्त्य हुनुपर्ने बताए ।  
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताए । 
प्रमुख जिल्ला अधिकारी बस्नेतले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनुपर्ने उल्लेख गरे । 

प्रतिक्रिया