यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई
जगदम्बा श्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई
यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ’ऐँठन’लाई दिइने भएको छ । मदन पुरस्कार गुठीको आजको बैठकले पुरस्कार सम्बन्धी निर्णय गरेको हो । यस्तै, २०७९ सालको जगदम्बा श्री वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । ओझाको यसअघि ’ऐलानी’नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् । ऐँठन बाहेक सुविन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर प्रारम्भिक सूचिमा थिए । दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ । नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा–श्री सम्मान दिने गरिन्छ । मदन पुरस्कार विसं २०१२ मा स्थापित भएको हो भने २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो ।
प्रतिक्रिया