एसियाली खेलकुदको क्रिकेटमा नेपाली टोली क्वार्टरफाइनलमा प्रवेश

नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बनाए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहोराले ६ विकेट लिए । उनी टी–ट्वान्टी क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५÷५ विकेट लिएका थिए । हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा अविजित रहे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडे ।आसिफ शेख र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । विनोद भण्डारी १३ रनमा आउट भए । त्यस्तै, सन्दीप जोरा ५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए । नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्लादेश,अफगानिस्तान र श्रीलङ्का छन् । क्वाटरफाइनलको ’ड्र’ भोलि हुनेछ । क्वाटरफाइनलका खेलहरु मङ्गलवार र बुधवार हुनेछन् । शुक्रवार सेमिफाइनल र फाइनल शनिवार हुनेछ । 

प्रतिक्रिया