नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन् ।
नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने स्पष्ट पारेका हुन् ।
“हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छाैं । संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छाैं”, उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै हाम्र मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छाैं ।”
भू–राजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूले नगर्ने बताउँदै उनले भने, “भू–राजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भू–राजनीतिक परिस्थितिलाई हामी सन्तुलितरूपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभइकन खुलस्त र मित्रतापूर्णरूपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्काे पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।”
उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गरे ।
राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररूपमा आफूलाई प्रस्तुत गर्ने बताए ।
प्रतिक्रिया