आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण
काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने सोह्रश्राद्धका सोह्र वटा तिथिमा दिवङ्गत पितृको नाममा तर्पण, पिण्ड र सिदादान गर्ने गरिन्छ । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । सोह्रश्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरुको उपस्थिति बढेको छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।
प्रतिक्रिया