प्रधानमन्त्री दाहाल आज छेन्दु भ्रमणमा
पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज छेन्दु पुगेका हुन् । छेन्दुमा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । दाहालले आजै साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गरेका छन् । २०८० असोज १० गते बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय पनि भेटवार्ता गरेका थिए । उनले बुधबार ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहाल र भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने तालिका छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको भ्रमणमा रहेका छन् ।
प्रतिक्रिया