उत्तर कोरियाले संविधानमै समेट्यो परमाणु शक्ति बन्ने महत्वांकाक्षा, संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित

काठमाडौं । उत्तर कोरियाले परमाणु शक्ति बन्ने आफ्नो महत्वाकांक्षालाई संविधानमै समावेश गरेको छ । उत्तर कोरियाली संसदले यससम्बन्धी संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरेको त्यहाँको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । कोरियाली संसद सुप्रिम पिपुल्स एसेम्बलीको दुई दिनसम्म चलेको बैठकले आफ्नो अस्तित्वको अधिकार सुनिश्चित गर्न र सम्भावित आक्रमण रोक्न देशले शक्तिशाली परमाणु हतियारको विकास गर्ने भन्ने प्रावधान संविधानमा समावेश गरेको हो । संसदलाई सम्बोधन गर्दै नेता किम जोङ उनले उत्तर कोरियाको परमाणु शक्ति निर्माणको नीतिलाई देशको मौलिक कानुनका रुपमा स्थायित्व दिइएको र कसैलाई पनि यसको उल्लंघन गर्ने अनुमति नभएको बताएका छन् । एक वर्षअघि मात्रै उत्तर कोरियाले आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्न सक्ने सम्बन्धी कानुन निर्माण गरेको थियो । उत्तरको ताजा कदमले उसले सातौँ परमाणु परीक्षण गर्न सक्ने सम्भावनालाई बढाउनुका साथै मस्कोसँग उसको सैन्य सहयोग अघि बढ्न सक्ने संकेत गरेको बताइएको छ ।

प्रतिक्रिया