मुआब्जा नपाएपछि रेल्वे बिस्तारको काम बन्द,मोटो रकम कुम्ल्याउन खोजिएको आरोप

कमलेश मण्डल
महोत्तरी । अधिग्रहण गरी लिनुपर्ने जग्गाको सीमांकन नै नगरी  रेल्वे विभागले  टेन्डर प्रक्रिया थालेका कारण महोत्तरीको बर्दिवासका  जग्गाधनीले विरोध जनाउदै रेल्वेको काम बन्द गराएका छन् । 

बर्दिवास नगरपालिकाभित्र निर्माण हुने रेल्वे स्टेसन क्षेत्र नजिक ऐलानी जग्गामा वर्षौदेखि बसोवास गरिरहेका  १४ घरपरिवारहरूले घरजग्गाको सीमांकन गरेर  विवाद समाधान गरी मुआब्जा वितरण  गर्न रेल्वे विभागसंग माँग गरेका थिए । 

तर रेल्वे विभागले लामो समयदेखि ती स्थानमा ऐलानी  जग्गाको मुआब्जा  नसुल्झाई हतारमा टेन्डर प्रक्रिया थालेका कारण   काम अघि बढ्न नसकेको हो । स्टेसन छेउको ऐलानी जग्गाका स्थानीयले मुआब्जा मागेका छन् । ऐलानी जग्गामा बस्नेहरूको कागजपत्र हुँदैन । बिना लालपुर्जा उनीहरूलाई मुआब्जा दिने नियम नभएको रेल्वे विभागले जनाएको छ । तर उनीहरूले मुआब्जा मागेर काममा अवरोध गरेका छन् । सो क्षेत्रका स्थानीयले पनि चलन चल्तीभन्दा कम मुआब्जा दिने निर्णय भएको भन्दै लिन अस्वीकार गरेका छन् जसका कारण सो क्षेत्रमा  काम अघि बढ्न नसकेको विभागले जनाएको छ ।

लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ  । विभाग र ठेकेदारले स्थानीयसँग पटक–पटक वार्ता गरेका थिए । तर स्थानीयले सीमांकन गरी मुआब्जा नदिएसम्म काम गर्न नदिने अडान राखेपछि ठेकेदार कम्पनीले पनि सो क्षेत्रमा काम अघि बढाएको छैन । 

रेल विभागले सीमांकन बिनै टेन्डर गरिदिँदा स्थानीयवासीको जग्गाहरू जथाभावी अधिग्रहण गरिएको छ   ।  एउटै मापदण्डमा परेका जग्गाहरूको मुआब्जा आफूखुसी फरक–फरक दरमा दिइएको छ ।कतिलाई समयमै मुआब्जा दिइएको छ भने कतिलाई वर्षौ धाउँदा समेत मुआब्जा उपलब्ध नगराउँदा उनीहरु आन्दोलित नै भएका छन्।  स्थानीय जनताले  अन्यायमा परेको भन्दै   पटक–पटक आन्दोलन गरिरहेका छन् । अधिग्रहण गरेको जग्ग्गा कति हो भन्ने यकिन र सीमांकन नगरी हतार–हतारमा टेन्डर प्रक्रिया थाल्नुले विभागको नियतमा शंका उत्पन्न भइरहेको बर्दिबासका स्थानीय बताउँछन् । 

सीमांकन नगरी माटो फिलिङ गर्दा अधिग्रहण नगरिएको जग्गामा माटो पुरिँदा भोलि विवाद सिर्जना हुने र आयोजनाको निर्माणमै ढिलाइ हुने भएको छ । भंगाहा गाविसको वडा नम्बर ४ ग र ४ ज को उत्तरतर्फ पानीट्यांकी हुँदै प्रेमनगर कटहरी जाने सडक छुटेको भनि रेल्वे कार्यालयको सिफारिसमा मुआब्जा थप गर्ने निर्णय भएको थियो ।

आफू अनुकूल रकम थप्न लगाएर त्यसबाट मोटो रकम कुम्ल्याउने योजना बनाएको स्थानीयको आरोप छ । बिभागबाट किसानहरूलाई निरन्तर झुलाउने र दुःख दिने काम भएको छ ।

प्रतिक्रिया