आजको मौसम : वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश लगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, बिहीबार राति भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।
बिहीबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ । सूर्यदय विहान ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ ।
प्रतिक्रिया