‘गाउँले शहरमा वन्यजन्तु बस्तीमा’
बागलुङ । बागलुङको ग्रामीण क्षेत्र बाट बसाइँसराइ गरी शहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवा सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।
दशक अगाडि सम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घर सम्म झाडी पलाए पछि अहिले गाउँमा वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थाले पछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतङ्क बढी छ ।
बाँदरले करेसाबारीमा लगाएका तरकारी देखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतङ्क भने बढ्दै गएको उनको भनाइ छ । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजो आज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे ।
“गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारी देखि खाद्यबाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उनले भने, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्यो ।”
काठेखोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नु परेको गुनासो गरे । हरेक वर्ष गाउँ बाट बागलुङ बजार, पोखरा, काठमाडौं र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ । गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतङ्क बढ्न थालेको कँडेलले बबताए ।
उनले भने, “हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यस तर्फ राज्यले ध्यान दिनुपर्यो , गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।”
रासस
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

‘यो व्यवस्थाको हकदार माओवादी हो’
२७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्कियो, आम आदमी सत्ता बाहिर
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव…
सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा
माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्
पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ : अध्यक्ष ढकाल

प्रतिक्रिया