कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । 

बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबार देखि बेनीको जलेश्वर देखि खुलामञ्च नजिकको दोभान सम्म छोटो दूरीको र्‍याफ्टिङ सञ्चालन गरिएको हो । 

नेपाल रिभर एक्सपोलर प्रा.लि. सँगको सहकार्यमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए । पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छन् । “महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा शुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्‍याफ्टिङ सेवा प्रवाह गरेका छौँ”, उनले भने । 

बेनी स्थित जलेश्वर देखि म्याग्दी र कालीगण्डकी नदीको दोभान सम्म प्रतिव्यक्ति ८ सय र बगरफाँट बाट दोभान सम्म ६ सय शुल्कमा र्‍याफ्टिङ गर्न सकिने जनाइएको छ । 

नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा र्‍याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताए । उनले जलयात्रामा रमाउन चाहनेहरूको समूह बनेमा लामो दूरीमा समेत र्‍याफ्टिङ सञ्चालन गर्न सकिने जानकारी दिए । 

तत्कालका लागि दुई वटा आठ–आठ जना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन् । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहना बमोजिम बेनी हुँदै मालढुङ्गा बाट नयाँपुल भएर मिर्मी सम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । 

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बेनी आसपासको क्षेत्रमा जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले सहयोग पुग्ने अपेक्षा गरिएको बताए । बेनी नगरपालिका–९ गलेश्वरधाम बाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँपुल भएर मिर्मी पुग्न सकिनेगरी र्‍याफ्टिङ सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए । 
रासस 

प्रतिक्रिया