एसियाडको पुरुष क्रिकेटमा नेपालद्वारा मंगोलिया पराजित
१९ औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी जित दर्ता गरेको छ । नेपालले मंगोलियाविरुद्धको खेलमा सर्वाधिक रन अन्तरको जित, उच्च टी–२० आई योगफलको कीर्तिमानसहित कुशल मल्लले सर्वाधिक छिटो शतक र दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका छन् । नेपालले एशियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको हो । जितका लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलब १ ओभरमा ४१ रनमा अल आउट भयो । यो टि–ट्वान्टी आई इतिहासकै सबैभन्दा ठूलो जित हो । मंगोलियाका दावासुरेनले सर्वाधिक १० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट झारे । हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । टि–ट्वान्टी आई इतिहासमा पहिलो पटक ३ सय रन बनेको हो । नेपालका कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि ट्वान्टी आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे । उनी कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । कप्तान रोहित पौडेलले ६१ रन जोडे । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनै पनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो । नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए । कुशल र रोहित दुबै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । नेपालका ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको छ । समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ । अन्तिम आठमा जित हात पारेको अवस्थामा पदक जित्ने सम्भावना हुनेछ ।।
प्रतिक्रिया