भक्तपुरमा १७ हजार किशोरीलाई ‘एच.पि.भी.’ खोप लगाइँदै
भक्तपुर । भक्तपुर जिल्लाका १७ हजार ६ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एच.पि.भी.) खोप लगाइने भएको छ ।
यही माघ २२ देखि आगामी फागुन ६ गते सम्म देशभर सरकारले शुरु गर्न लागेको खोप अभियान अन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए ।
भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक नगरपालिकाका ४ हजार १ सय ६२, भक्तपुर नगरपालिकाका ६ हजार ७ सय ४२, मध्यपुर ठिमि नगरपालिकाका ४ हजार २ सय ३ र चाँगुनारायण नगरपालिकाका २ हजार ५ सय ८४ किशोरीलाई एच.पि.भी. खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार ६ सय २८ र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ ।
कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुर ठिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल २ सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ ।
खोप अभियानलाई सफल पार्न कुल २ सय ८९ स्वास्थ्यकर्मी र ५ सय ७० स्वयंसेवक परिचालन गरिने भएको छ । कार्यालय प्रमुख खतिवडाका अनुसार जिल्लाका चार वटै स्थानीय तह सँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ । खोप लगाउँदा कसैलाई स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उनले समस्या आइहालेमा उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार गरिने जानकारी दिए ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यो खोप लगाए पछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखको क्यान्सर बाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रोमा पर्छ ।
भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकाय सँग समन्वय भइरहेको छ । जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।
रासस
प्रतिक्रिया