प्रहरी महानिरीक्षकद्वारा दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । 

पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा उनले सङ्गठनको विकास र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । 

“पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देश गर्दछु”, प्रहरी महानिरीक्षक कुँवरले भने । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले सङ्गठनको छवि उच्च गर्न र बृहत्तर हितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । 

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कडायत र रवीन्द्र केसी, प्रहरी नायब महानिरीषकहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीलाई दज्र्यानी चिह्नद्वारा सुशोभित गरेका थिए ।

प्रतिक्रिया