नेपाल-चीन १३ बुँदे सहमतिबारे संयुक्त वक्तव्य सार्वजनिक

बीआरआई कार्यान्वयन गर्ने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण तथा नेपाल र चीनबीच भएको १३ बुँदे सहमतिबारे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । प्रधानमन्त्री दाहाल र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितीमा भएको समझदारी तथा सहमतिलाई विस्तृतमा उल्लेख गर्दै आज संयुक्त वक्तव्य जारी भएको हो । बेल्ट एन्ड रोड इनिसिएटिभस ‘बीआरआई’को माध्यमबाट दुवै देशले थप समृद्धि हासिल गर्न सक्ने भएकाले यसको द्रुत कार्यान्वयनमा पहल गर्न दुवै देश सहमत भएको पनि वक्तव्यमा उल्लेख छ । सन् २०१७ मा नेपालले बीआरआईमा सहभागि हुन नेपालले स्वीकार गरेकाले कार्यान्वयन योजनाको अन्तिम रूप दिन पनि दुवै देश सहमत भएका हुन । पूर्वाधार कनेक्टिभिटी, व्यापार, पर्यटन, उत्पादन क्षमता र लगानीलाई थप गहिरो र बलियो बनाउने तथा बन्दरगाह, सडक, रेलमार्ग जस्ता क्षेत्रमा सम्पर्क सुदृढ गर्न पक्षहरू सहमत भएका हुन । हवाई मार्ग विस्तार र विद्युतीय ग्रिड निर्माणमा पनि दुवै देश एकमत भएका छन् । त्यस्तै जिलोङ केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने सहमति भएको वक्तब्यमा उल्लेख छ । रसुवागढी र तातोपानी नाका जोड्ने मुख्य सडक विस्तारमा सहमति भएको छ । टोखा छहरे सुरुङमार्ग, स्याफ्रुबेसी रसुवागढी र अरनिको राजमार्ग बिस्तारको काम अघि बढाउने सहमति नेपाल र चीनबीच भएको हो । दुबै पक्ष केरुङ काठमाडौं क्रस बोर्डर रेलवेको संभाव्यता अध्ययनमा सहमत भएका छन । नेपालमा रेलसम्बन्धी दक्ष जनशक्ति उत्पादनको लागि चीनले सहयोग गर्ने समझदारी पनि दुई देशबीच भएको छ । त्यस्तै नेपालले चीनलाई एक जोडी गैंडा दिने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । 

प्रतिक्रिया