सकिएन रवि लामिछानेको थुनछेक बहस, हिरासत पठाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस नसकिएपछि उनलाई हिरासत पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । 

काठमाडौंको स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि भएको थुनछेक बहस नसकिएको हो । सोमबारबाट शुरु भएको थुनछेक बहस नसकिएपछि लामिछाने अझै २ दिन हिरासतमै रहनेछन् । 

समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । मंगलबार सार्वजनिक बिदा भएकाले मुद्दाको अर्को सुनुवाइ बुधबारमात्रै हुनेछ । 

स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएको छ । सोही मुद्दालाई सघाउन आइतबार सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने कास्की प्रहरीकोे हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।

प्रतिक्रिया