गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
गण्डकी । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको जानकारी दिए ।
संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा सामवेश गरेर यो खोपलाई नियमित खोप सेवाको रुपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताए ।
यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरुलाई नियमित खोपका रुपमा यो खोप प्रदान गर्ने सरकारको नीति रहेको खड्काको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप अभियान सञ्चालनसम्बन्धी दुई दिनको अभिमुखीकरण तालिम प्रदान गरिएको बताए । सापकोटाका अनुसार बागलुङमा ११ हजार पाँच सय ५५ जना किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पु¥याउने प्रमुख सापकोटाले बताए । धवलागिरि अस्पतालका स्त्री रोग विशेषज्ञ डा. विजय ओझाले ‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने बताए ।
डा ओझाका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको उनको भनाइ छ ।
यसअघि सरकारले आव २०७२/७३ र २०७३/७४ मा नमूनाका रुपमा चितवन कास्कीमा उक्त खोप कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी गत आवमा ‘बाइभ्यालेण्ट एचभिपी सेकोलिन’ खोपको २० हजार मात्रा खरिद गरी नमूनाका रुपमा सातै प्रदेशका एक÷एक अस्पतालबाट १४ वर्षका किशोरीलाई छ महिनाको फरकमा दुई मात्रा खोप प्रदान गरिएको थियो । उक्त खोप अस्पतालमा आधारित खोप केन्द्रबाट प्रदान गरिएको थियो । ‘ह्यूमन प्यापिलोमा’ भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन् ।
मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपिभी’ भाइरसको पटकपटक सङ्क्रमण भएर २० वर्षसम्म रहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीहरुको भनाइ छ । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार तीन सय १३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।
रासस
प्रतिक्रिया