तरकारीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी
वालिङ (स्याङ्जा) । स्याङ्जाका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारी खेतीमा होमिएका हुन् ।
एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गरेका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भाण्टा, घिरौँला, करेला, टमाटर, आलु लगायतका तरकारी उत्पादन र बिक्री गर्दै आएका छन् । उनले हाल झण्डै छ रोपनी जमिनमा तरकारीखेती गर्दै आएका छन् ।
“तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा ६ लाख ५० हजार आम्दानी भयो”, उनले भने, “यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।” स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उनले सुनाए । वालिङ–हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताए ।
डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहेका छन् ।
रासस
प्रतिक्रिया