भारतको प्रयागराजमा महाकुम्भ मेला शुरु
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराज (इलाहाबाद) मा आजदेखि महाकुम्भ मेला शुरु भएको छ । तीन नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगम रहेको स्थानमा १२ वर्षे महाकुम्भ मेला शुरु भएको हो ।
प्रयागराजको त्रिवेणीमा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता छ । आजदेखि शुरु महाकुम्भ ६ साता अर्थात् २६ फेब्रुअरीसम्म चल्नेछ ।
संगममा स्नान गर्न यो ६ साताको अवधिमा ४० करोडभन्दा बढी मानिस प्रयागराज पुग्ने अनुमान गरिएको छ । महाकुम्भ मेलामा ठूलो संख्यामा साधु सन्त तथा सिद्धपुरुषहरुपनि सहभागी हुने गर्दछन ।
पौराणिक कथा अनुसार समुद्र मन्थनपछि निस्किएको अमृतको घडा आफनो कब्जामा लिन देवता र राक्षसबीच १२ दिनसम्म युद्ध चलेको थियो भने सो युद्धका क्रममा प्रयागराज, हरिद्वार, उज्जैन र नाशिक शहरमा अमृतका चार थोपा खसेको थियो ।
सोही मान्यता अनुसार पालैपालो गरी प्रत्येक तीन–तीन वर्षमा यी शहरमा कुम्भ मेला आयोजना गर्ने गरिन्छ । त्यसमध्ये प्रत्येक १२ वर्षमा पर्ने कुम्भ मेलालाई महाकुम्भ मेला भन्ने गरिन्छ । महाकुम्भ आयोजनाका लागि राज्य सरकारले ६४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया