मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ :  मन्त्री अधिकारी

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् ।

विज्ञान प्रवद्र्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताएका हुन् । 

“मानव वन्यजन्तुबीचको द्वन्द्व गम्भीर चुनौतीका रुपमा देखापरेको छ, मानिसको जनसङ्ख्या वृद्धिसँगै वन्यजन्तुको प्राकृति आहार तथा बासस्थान खण्डीकरण र सङ्कुचन भई आहार र बासस्थानको खोजीमा मानववस्तीमा वन्यजन्तु पस्दा द्वन्द्व मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बाँदर, बँदेल, दुम्सी, हात्ती गैँडा जस्ता जनावरले किसानका खेतीबालीमा क्षति पु¥याउने समस्या बढिरहेको छ”, उनले भने ।

“बाँदर आतङ्क बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँबस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइँसराइको क्रम आकाशिएको छ”, मन्त्री अधिकारीले भने । उनले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभइ देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताए । 

“बाँदरलगायत वन्यजन्तुका कारणले नेपालको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिएको छ, बिगत दुई दशकमा नेपालमा मानव जातिमा देखापरेको ६० प्रतिशत उदीयमान सङ्क्रामक रोगहरु पशुमा सङ्क्रमण भएर देखापरेका छन् । वैज्ञानिक, सामाजिक, आर्थिक र मानवशास्त्रीय अध्ययनमार्फत जोखिम व्यवस्थापन र न्यूूनीकरण हुनु आवश्यक छ”, उनले भने ।

मन्त्री अधिकारीले बन्यजन्तुमा रोग निगरानी प्रणाली आवश्यक रहेको बताए । “बन्यजन्तुबाट पशु हुँदै मानवमा रोगको फैलावटलाई रोक्न प्रभावकारी कदम चाल्न आवश्यक छ, जङ्गली जनावर र मानव द्वन्द्व निवारण, समस्याग्रस्त जङ्गली जनावरको उद्धार तथा व्यवस्थापन, जङ्गली जनावरको आनीबानी तथा तिनीहरुबाट मानिसमा सर्ने रोग न्युनिकरण गर्न जनचेतना जगाउन आवश्यक छ, प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रका किसान, जनप्रतिनिधि, नागरिक समाजसमेतको सहभागितामा  जनावर र मानवद्वन्द्व नियन्त्रण सम्बन्धि क्रियाकलापहरु  सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ”, उनले भने ।

मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोडिएकाले सबैले हातेमालो गर्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने मन्त्री अधिकारीले बताए । रासस

प्रतिक्रिया