आयल निगमले मंसिरसम्म सबै ऋण चुक्ता गर्ने

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै नेपाल आयल निगमले ऋण तिर्न सफल भएको छ ।  पछिल्लो दुई महिना नियमित रूपमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै निगमले नाफा कमाएको रकमबाट इन्धन खरिद गर्न लिएको सरकारको ऋण तिर्न सफल भएको हो । एक वर्षअघिसम्म नेपाल सरकार र इन्डियन आयल कर्पोरेसन  आइओसीको गरेर ३१ अर्ब रुपियाँ ऋण र बक्यौता रहेकामा हाल घटेर दुई अर्ब १० करोड रुपियाँमा झरेको छ । निगमले हालसम्म कमाएको नाफा रकमलाई सरकारी ऋण तिर्न प्रयोग गरिरहेको जनाएको छ । एक वर्षअघि लिएको सात अर्ब सरकारी ऋण अहिले दुई अर्ब १० करोडमा झरेको छ भने आगामी मङ्सिर महिनाभित्र तिरिसक्ने निगमको योजना छ । आर्थिक वर्ष २०७८÷७९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च भएको समयमा सोही दरमा नेपाली बजारमा मूल्य समायोजन नहुँदा निगम ४८ अर्ब ९५ करोड रुपियाँ नोक्सानीमा धकेलिएको थियो । गत साउन १ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सोही अनुसार निगमले १५÷१५ दिनमा इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्दै आएको छ । 
 

प्रतिक्रिया