सिक्लेसमा ठेलो हान्ने मेला हुने

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ ।

कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरू मध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ  । क्लबका अध्यक्ष भोलामान गुरुङले ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे सङ्क्रान्ति मेला’  भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए ।

गुरुङका  अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिवल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलो लगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ ।

मेलाका अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजयीले रु एक लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
त्यस्तै खुल्ला महिला भलिबलतर्फ प्रथम हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुल्ला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले रु एक लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ७० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।    

मेलामा गुरुङ भाषा गीतको सामूूहिक नृत्यमा प्रथम हुनेले रु ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।
प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले रु ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । 

पोखराबाट करिब ४० किमीको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका–१ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ चार सय ५० घरधुरी रहेका छन् । ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटल दर्ता भई सञ्चालनमा रहेका छन् । 

रासस

    
    

प्रतिक्रिया