काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेमाथि थुनछेक बहस शुरु

काठमाडौं । सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्ने विषयमा आज थुनछेक बहस शुरु भएको छ  ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलले बहस शुरु गरेका हुन् । हिजो आइतबार बिहानै अदालतमा उपस्थित भएका  सभापति लामिछानेको दिनभर बयान चलेको थियो । बयान सकिएर थुनछेक बहस हुनेबेलामा  सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीश अधिकारीले सोमबार बहस हुनेगरी उनलाई न्यायिक हिरासतमा पठाउन आदेश गरेका थिए ।

लामिछानेमाथि काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा दायर भएकोले उनी अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । सो सहकारी बाट ६ सय ९० बचत कर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

लामिछाने विरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ ।ती जिल्लामा पनि उनी विरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।
 

प्रतिक्रिया