भ्रष्टाचारीहरुको पक्षमा मुद्दा नलडौँ : प्रा.डा.युवराज संग्रौला
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा अन्तराष्ट्रिय कानूनका ज्ञाता प्रा. डा. युवराज संग्रौलाले भ्रष्टाचारमा संलग्न नेता र सरकारी अधिकारीहरुको पक्षमा मुद्दा नलड्न कानून ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।
पृथ्वी जयन्तीको अवसर पारेर कानूनका विद्यार्थीहरुले काठमाडौं स्कुल अफ लको सभाहलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
सडकमा भ्रष्टाचार विरोधी अभियन्ता बन्ने अनि तिनै भ्रष्टाचारीहरुको पक्षमा मुद्दा लड्ने द्वैध चरित्रले कानून ब्यवसायको गरिमामा क्षति पुर्याउने उनले बताए । ‘कि भ्रष्टाचार विरोधी अभियन्ता बन्नुस, कि अधिवक्ता भएर जोसुकैको पक्ष वा विपक्षमा मुद्दा लड्नुस’, कार्यक्रममा उपस्थित अधिवक्ताहरुतर्फ संकेत गर्दै उनले भने, ‘
सडकमा भ्रष्टाचारीहरुलाई गाली गरेर तिनैको पक्षमा बहस गर्ने प्रवृत्तिले तपाईको छवि उँचो बनाउँदैन ।’ म भ्रष्टाचारको विरोध गर्छु तर भ्रष्टाचारीको पक्षमा मुद्दा लड्दिन । त्यसैले भ्रष्टाचार र भ्रष्टाचारीलाई जनतासामु नंग्याउने गरी गाली गर्छु’ उनले भने, ‘तपाईँ हामी सबैले यति नैतिकताको ख्याल गर्ने कि’कार्यक्रममा उपस्थित कानूनका विद्यार्थीहरुलाई समेत भविष्यमा कुशल अधिवक्ता बन्न तर दलाल नबन्न उनले सुझाए ।
अधिवक्ता भन्ने बित्तिकै आम मानिसको मश्तिष्कमा दलालको चित्र आउने गरेको भन्दै उनले यसलाई पुराना र नयाँ आउने अधिवक्ताहरुले नै सच्याउनुपर्ने बताए । कार्यक्रममा पूर्व न्यायाधीश, अधिवक्ता, कानूनका विद्यार्थी तथा पत्रकारहरुको समेत सहभागिता थियो ।
प्रतिक्रिया