‘सरकारी विद्यालय सुधारको जिम्मा समुदायलाई दिइने’

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले सरकारी विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने जिम्मेवारी समुदायको हातमा रहेको बताएका छन् ।नुवाकोटको विदुर–५ माझीटारमा रहेको च्वाडीपब्लिक माध्यमिक विद्यालयको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सरकारी विद्यालयलाई स्रोतसाधनले सम्पन्न बनाउने जिम्मा राज्यले पूरा गर्दै आएकाले शिक्षाको गुणस्तर सुधारको जिम्मा समुदायको रहेको बताए ।

“विद्यालयमा चाहिने कक्षाकोठा, आवश्यकताअनुसार शिक्षक–कर्मचारीको व्यवस्था, विषयगत प्रयोगशालासहित विद्यार्थीलाई खाजाको प्रबन्ध सरकारबाट उपलब्ध गराइएको छ”, उनले भने, “सरकारबाट उपलब्ध स्रोतसाधनको उपभोग गराई शिक्षाको गुणस्तर सुधार्न व्यवस्थापन समितिको अगुवाइमा अभिभावक नै चिन्तित हुनुपर्छ ।”सरकारी विद्यालयको लागि दक्ष र क्षमतावान शिक्षकलाई राम्रो सुविधा दिएर सरकारले नियुक्त गरे पनि उनीहरुको क्षमताअनुसार शिक्षाको गुणस्तर नआएको भन्दै मुख्यमन्त्री तामाङले गुनासो गरे ।

“सरकारी अवसरबाट वञ्चित भएका शिक्षकले निजी विद्यालयमा गएर शिक्षा र विद्यार्थीको दक्षता सरकारी विद्यालयको भन्दा राम्रो बनेको छ । विद्यालय सञ्चालनको जिम्मेवारी पाएका अभिभावक, व्यवस्थापन समिति र शिक्षक तीनवटै पक्ष गम्भीर हुनुपर्दछ”, उनले भने ।विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरभित्रका सामुदायिक विद्यालय सुधारका लागि शैक्षिक कार्यतालिका बनाइ विगतको तुलनमा क्रमशः सुधार हुँदै अएको जानकारी दिए । उक्त अवसरमा विद्यालयको कक्षागत र विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई मुख्यमन्त्री तामाङबाट प्रशंसापत्रसहित सम्मान गरिएको थियो । 

प्रतिक्रिया