लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
सिरहा । सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरका ५९ सामुदायिक र ११ धार्मिक विद्यायलका शिक्षकहरूलाई तालिम दिन शुरु गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिए ।
प्रमुख कटुवालका अनुसार ३५\३५ जनाको समूह बनाई पहिलो समूहलाई यही पुस २४, २५ र २६ गते तालिम दिइसकिएको र दोस्रो समूहको तालिम आजदेखि शुरु गरिएको छ । यस अभियानले फरक क्षमता भएका बालबालिकाको पहिचान र समयमै उपचार गरी शिक्षण सिकाइमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“हामीले बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाको अपाङ्गताको अवस्था पहिचान गर्न लागेका छौँ । कुनै पनि बालबालिका एकअर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन्”, प्रमुख कटुवालले भने, “त्यसैले उनीहरूरुको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले नियमित क्रियाकलापमा परिरहेको असर समयमै पहिचान गर्न सके उपचार गर्न र विशेष सीप सिकाउन सजिलो हुन्छ ।
”नगरप्रमुख महेशप्रसाद चौधरीले शिक्षकलाई दिइएको यस प्रकृतिको तालिमले फरक क्षमता भएका बालबालिकाको अवस्था, रुचि र आवश्यकता पहिचान गरी सोहीअनुसार पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
बालबालिकामा उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसरका लागि क्रियाशील हुन नगरपालिकालगायत सरोकारवालालाई पनि यसले सहजता प्रदान गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया