धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी चयन

काठमाडौं  । धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी चयन भएका छन् ।

संघको हिजो शुक्रबार  भएको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले भण्डारीलाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । संघको  कार्यसमिति सदस्य समेत रहिसकेका धादिङका युवा ब्यवसायी भण्डारीले पुर्व अध्यक्षहरु सवैजनालाई साक्षी राखेर बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।

धादिङ उद्योग बाणिज्य संघमा विधानतः हालको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले हरेक अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदकै लागि रस्साकस्सी हुने गर्दछ । विगतको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित रामकुमार डल्लाकोटीले अब अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

अधिवेशनले जिल्ला कार्य समितिको लागि २१ जना सदस्य पनि चयन गरेको छ । वरिष्ठ उपाध्यक्षसहित सबै सदस्यहरु पनि सर्वसम्मत चयन भएको हो ।

सदस्यहरुबाटै कार्य समितिको बैठकले समितिका पदाधिकारी चयन गर्नेछ । संघको ३३ सदस्यिय कार्य समितिमा २१ जना प्रत्यक्ष निर्वाचित, क्षेत्रीय समितिबाट निर्वाचित २/२ जना गरि ६ जना, ५ जना मनोनित, एक निवर्तमान अध्यक्ष रहनेछन् । वरिष्ठ उपाध्यक्षमा निर्वाचित भण्डारीले आफू सधैभरी व्यवसायीको हक हितमा लाग्ने प्रतिवद्वता  जनाएका छन् । 
 

प्रतिक्रिया