‘सबै निकाय र राजनीतिक दलले सूचना हक कार्यान्वयन गर्नुपर्नेमा जोड’

काठमाडौं । सभामुख देवराज घिमिरेले सार्वजनिक निकायका साथै सबै राजनीतिक दलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय सूचना आयोगले  आज आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले सबै राजनीतिक पार्टीले लोकतन्त्रलाई बलियो बनाउन र जनताको विश्वास जित्न पारदर्शी बन्दै सो ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । 

प्रत्येक तीन/तीन महिनामा सार्वजजिक निकायले सरोकार भएका सबै सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने तथा कार्यालयमा रहेका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।  

सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले “प्रत्येक सावर्जनिक निकायले आमनागरिकको सूचना पाउने मौलिक हकको सम्मान गर्दै सूचना प्रवाह गर्नु पर्दछ”, भनेको छ । 

सभामुख घिमिरेले लोकतान्त्रिक संसदीय प्रणालीभित्र राजनीतिक दलहरूको भूमिका सबैभन्दा माथि रहने भन्दै दलहरू पारदर्शी, वस्तुनिष्ठ र जनताकेन्द्रित हुनुपर्ने जिकिर गरे । संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताउँदै  संसदीय प्रणालीलाई बलियो बनाउन सूचनाको हकलाई सबैले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सभामुखको  जोड छ  । 

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कांग्रेसले लोकतान्त्रिक सिद्धान्तलाई पालना गर्दै सूचनाको हकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आएको बताए । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हकसम्बन्धी ऐन र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आफ्नो पार्टीले पारदर्शी ढङ्गबाट जनतालाई हरेक सूचना प्रवाह गरिरहेको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले लोकतन्त्रको आधार पारदर्शीता र सूचनाको हक रहेकाले यसलाई व्यावहारिक रूपमा सबै निकायले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया