माघीको तयारीमा जुटयो थारू समुदाय

कैलाली । थारू समुदायको सबै भन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । 

माघी पर्व नजिकिए सँगै कैलाली, कञ्चनपुर लगायत थारू बस्तीमा चहलपहल बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्य आ–आफ्नो कामको जिम्मेवारी लिएर खटिएका छन् । पर्वको तयारीका लागि विशेषगरी अन्डी धानको चामल, पिठो लगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइ लगायत कार्य धमाधम भइरहेको छ । 

माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटा लगायत खानाका परिकार खाने चलन रहिआएकाले त्यसका लागि जुटेका हुन । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटी लगायत खानाका परिकार तयार गर्न महिलालाई भ्याइनभ्याई छ । माघीको तयारीका लागि एक महिना अघि देखि नै अण्डीको रोटी, ढिक्रीका लागि पिठो जोहो गर्ने, सिद्रा जोहो गर्ने, बङ्गुर खोज्ने लगायत कार्य शुरू भएको छ । थारू जातिको संस्कृति झल्कने मघौटा नाचको तयारी पनि अहिले देखि नै शुरू भएको छ ।  

माघीमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुङ्गुरको मासु, माछा, गङ्गटा लगायत स्थानीय खानाका पकवान खाने चलन छ । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । 

त्यस्तै, माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया