अमेरिकामा लागेको डढेलोमा परी मर्नेको सङ्ख्या १६ पुग्यो

एजेन्सी । अमेरिकाको लस एन्जलसमा डढेलोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वस्ती सहित ३९ हजार ‘एकड’ भन्दा बढी जमिन जलेर खरानी भएको छ । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन्  । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन्  । 

वायुको गुणस्तर ‘निकै प्रदूषित’ भएको छ । लस एन्जलसका सयौँ भवनहरु ध्वस्त भएका छन् भने दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आगो निभाउन हजारौं अग्नि नियन्त्रकहरू अहिले पनि लागि परेका छन् । 

यद्यपी धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी पछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुले आशङ्का व्यक्त गरेका छन् । अन्य ६० हजार भवन जोखिममा परेका छन् ।

डढेलोको कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलर भन्दा बढी हुने अनुमान गरिएको समाचारमा उल्लेख छ । लस एन्जलस काउन्टीमा करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । 

यसबाहेक, एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नु पर्ने हुन सक्छ भनी चेतावनी दिइएको छ । 

प्रतिक्रिया