जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्याको अस्पताल बनाइन्छ : मन्त्री पोडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई ३ सय शय्याको अस्पताल बनाउने सम्झौता भइसकेको बताएका छन् ।
नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्यसँगको भेटमा मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको अस्पताल बनाउन पूर्वाधार र उपकरण सहयोग गर्ने सम्झौता भइसकेको बताएका हुन् ।
मन्त्री पौडेलले भने, “भारत सरकारले उपचार केन्द्रलाई उपकरणसहित सहयोग गर्ने भएको छ, भारतीय स्वास्थ्य मन्त्रालयमा योजना पुगेको र अबको केही दिनमा द्विपक्षीय सम्झौता हुनेछ ।”
उनले दमौली अस्पतालको विकासका लागि जग्गा विवाद समाधानका निम्ति अबको मन्त्रिपरिषद् बैठकमा छलफल अगाडि बढाउने प्रक्रिया भएको बताए । “मन्त्रिपरिषद्बाट समस्या समाधान गरी आगामी आर्थिक वर्षमा दमौली अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन बजेटको व्यवस्थापनमा पहल गर्नेछु”, उनले भने ।
सरकार सुधारिएको स्वास्थ्य क्षेत्र बनाउने उद्देश्यले सबै अस्पताल तथा स्वास्थ्य क्षेत्रको सेवा सहज र सरल बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । साथै उनले ५ लाख पु¥याउने गरी एकीकृत बिमाको व्यवस्थापकीय प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।
प्रतिक्रिया