एमालेमा हुँदा हाम्रो हालत रोइकराई गरेर हिँड्नेहरु जस्तो हुन्थ्यो : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरेका हुन् । तत्कालीन सभामुख अग्नि सापकोटाले नजोगाएको भए आफूहरुको हालत रोइकराई गरेर हिँड्नेहरु जस्तो हुने उनी बताउँछन् ।
उनले भने, ‘केपी ओलीजीले संसारमा आफू भन्दा जान्ने कोहि जन्मेको छैन् ठान्नुहुन्छ। ज्ञानको म एक्लो भण्डार हुँ अरु त केहि पनि होइन भन्ने ठान्नुहुनछ। ओलीजीको अहंकारले एमालेभित्र समस्या खडा भयो। सामूहिक रुपमा छलफल गर्ने चलन हरायो। बैठकमा एक्लै निर्णय गर्न चलन शुरु भयो। चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले, तीनिहरुको पत्तासाफ गर्ने प्रवृत्तिको शुरुआत भयो। हामी १४ जनालाई पार्टी र संसदबाट निकाल्ने निर्णय गरियो। त्यो बेलामा हामीलाई सभामुख अग्नि सापकोटाले जोगाइदिए उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले त्यहाँ रोइकराई गरेर हिँड्नेहरुको जस्तै हुन्थ्यो। चुनौती दिन सक्ने अवस्था बन्ने थिएन। आज हामी चुनौती दिइरहेका र्छौँ।’
अध्यक्ष नेपालले अहिले आफूहरु ओलीलाई चुनौती दिनसक्ने ठाउँमा रहेको जिकिर गर्दै पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई समेत आग्रह गरे ।
प्रतिक्रिया