अमेरिकामा लागेको डढेलोमा परी मर्नेको सङ्ख्या ११ पुग्यो

एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलोमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुगेको छ । 

लस एन्जलसमा मंगलबार शुरु भएको डढेलो असर बढी रहेको छ। अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन, केनेथ, हस्र्ट र लिडिया क्षेत्रमा आगलागी भइरहेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लस एन्जलस प्रहरीले शहरको वुडल्यान्ड हिल्स क्षेत्रमा आगो लगाउने प्रयास गरेको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ । आगलागीका कारण झन्डै १० हजार संरचना ध्वस्त भएको छ । अहिले सम्म एक लाख ८० हजार जनालाई स्थानान्तरण गरिएको र दुई लाख जना भन्दा धेरै मानिस जोखिममा रहेको बताइएको छ । 

आगलागी बाट ३४ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जङ्गलको आगलागी भएको अधिकारीहरूले बताएका छन् । सुक्खा मरुभूमिको हावाले आगोलाई थप बल पुर्‍याइरहेको समाचारमा उल्लेख छ । निकै तीव्र गतिको हावाले आगोलाई अझ फैलाउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । 


 

प्रतिक्रिया