विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । 

चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ । 

आठ वर्ष अघि सम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आर्थिक वर्ष २०८०/८१ मा चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ । प्राधिकरणले गत आर्थिक वर्षमा १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास शुरू गरेको थियो । त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ, आठ वर्ष अघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले  अहिले  ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको  छ ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्ष अघि ८९ दशमलव आठ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्‍याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणत र्फका पूर्वाधार संरचनाको विस्तार एवम् सुदृढीकरणमा विशेष ध्यान दिइएको जानकारी दिए । 

यस्तै, उत्पादन तर्फका ठूला जलविद्युत् आयोजना अगाडि बढाउने, आन्तरिक रूपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइएको उनको भनाइ छ । 

देश लोडसेडिङमुक्त भएर नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न र उपभोक्तालाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणालीको पूर्वाधार विस्तार, सुधार एवं प्रविधि मार्फत स्वचालित गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । 

गत आर्थिक वर्षको वर्षायाममा देश भित्र खपत गरी बढी भएको विद्युत् भार तर्फ निर्यात गरी १७ अर्ब ७ करोड आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयात भन्दा करिब १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ता बाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको छ । 
रासस 

प्रतिक्रिया