पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग बाट सञ्चालन
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो ।
पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताए । रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्य तर्फ पठाउने काम शुरू गरिएको उनले बताए । पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदा सम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्य तर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।
रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्री बाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोक स्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटो बाट साना सवारीलाई वारपार गराइएको छ । दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोल पम्प नजिकै बाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।
रातिको समय भएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । विनयी खोलामा बनेको २ सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ । कृष्णनगर भन्सार बाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भाग बाट पुल भाँचिएको हो । ट्रक पुलको बीच भागमा नै फसेको छ ।
रासस
प्रतिक्रिया