आज पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै
काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्म जयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोख बाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यस अघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टा देखि पश्चिममा चेपे नदी सम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडा सम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्ष पछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।
यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोका अघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
रासस
प्रतिक्रिया